दुनियामा सबै रंगढंग बदलिइरहेको छ भने बेलायतको विश्वचर्चित अक्सफोर्ड विश्वविद्यालयको पोशाक संहिता -ड्रेस कोड) नबदलिने कुरै भएन ।

बदलिँदो संसारमा आफुलाई पनि ढाल्नकै लागि होला अक्सफोर्डले हालै जो नियम बनाएको छ त्यसले छात्रछात्राले लगाउने सामान्य पोषाकमा ठिक ३६० डिग्रीको फरक ल्याउनेवाला छ ।

अक्सफोर्ड प्रशासनले बनाएको नयाँ नियम अनुसार अब उक्त युनिभर्सिटीमा पढ्ने केटाहरुले स्कर्ट लगाउनेछन् र केटीहरु सूट तथा टाइमा ठाँटिनेछन् ।

नयाँ नियम अनुसार परीक्षा तथा विभिन्न आधिकारिक समारोहहरुमा छात्रहरु अब स्कर्ट पहिरिएर आउन पाउनेछन्, त्यस्तै छात्राहरु सूट तथा सेतो गाँठो सहितको टाइमा सजिएर आउनेछन् ।

अहिलेसम्म अक्सफोर्डमा छात्रहरुले गाढा रंगको शुट तथा मोजा, कालो जुत्ता, सादा सेतो सर्ट तथा ह्वाइट बो टाइ र कालो गाउन सहितको पोषाक लगाउनुपथ्र्यो ।

त्यस्तै छात्राहरुको औपचारिक पोषाकमा गहिरो रंगको स्कर्ट, सेतो ब्लाउज तथा कालो रिबन,कालो स्टकिंग र कालै जुत्ता थियो ।

अक्सफोर्डमा अहिलेसम्म यो तोकिएको ड्रेस लगाउनुपर्ने नियम यतिधेरै कडा छ की अलिकती तलमाथि पारेर कपडा लगाएमा पनि उक्त विद्यार्थी सिधै कारवाहीमा पर्ने गर्छ ।

तर अब कलेजले जुन नयाँ नियम बनाएको छ यसले छात्र तथा छात्राबीचको पोषाकको अन्तरलाई निमिट्यान्न पार्नेछ । अब छात्रहरु समेत स्कर्टमा आउने भएपछि को केटा ? र को केटी ? भन्ने छुट्टाउन समेत सकस पर्ने सम्भावना छ ।

पोषाकको नियममा गरिएको यो परिवर्तन तेश्रो लिंगी तथा समलिंगीलाई मध्यनजर गरेर बनाइएको क्याम्पस प्रशासनको भनाइ छ ।